माझी जातिको धर्म संस्कृति र कोशी पूजा : संक्षिप्त परिचय

माझी समुदाय यस देशका आदिवासी हुन आदिवासी भन्नाले आदिम कालदेखि यस देशको भूमिमा बसोबास गर्ने मानिस वा बासिन्दा भन्ने बुझिन्छ । आदिवासी माझी समुदायको पहिचान उनीहरूको संस्कार, संस्कृति, रीतिरिवाज र जीवन पद्धति, सोझो पन, सरलता, सत्यता, सामूहिकता, सहकारिता, स्वतन्त्रता आदि माझी समुदायको विशेषता हो ।

माझी समुदायको धर्म, संस्कार, संस्कृति, चाडपर्व, रीतिरिवाज, खानपान, रहनसहन, नामकरण आदि अन्य जाति समुदायको भन्दा फरक किसिमको छ । माझी समुदायले मान्ने कुनै खास धर्म वा ईश्वर छैन । नत कुनै प्रकारको ईश्वरको पाठ-पूजा, भजन-कीर्तन वा भक्ति भावना प्रति चासो राख्दछन् । माझी समुदायले सिर्फ प्रकृति अर्थात् भूमि, पानी, वायु, अग्नि, आकाश आदिको पूजा गर्दछन् । आफ्नो माता पिता वा पितृहरूलाई मुख्य देवता मान्दछन् र सम्पूर्ण मानव जातिलाई समान ठान्दछन् ।

प्रकृति पूजक माझी समुदायको खानपान, रहनसहन, नामकरण वा जीविकोपार्जन प्रकृतिसँग जोडिएको छ । माझी समुदायले मान्ने चाडपर्व, पूजाआजा वा जन्मदेखि मृत्यु संस्कारका सबै सामाजिक कार्यहरू, रीतिरिवाजहरू प्रकृतिलाई नै साक्षी राखी प्राकृतिक नियमानुसार सम्पन्न गर्दछन् ।

प्राकृतिक वातावरणमा रम्न रमाउन रुचाउने तथा प्रकृतिबाटै हरेक आवश्यक्ता पुरा गर्न प्रयत्न गर्ने माझी समुदाय जस्तोसुकै परिस्थिति र परिवर्तन आए पनि प्राकृतिक वातावरणबाट कहिल्यै अलग भएको छैन र हुन सक्दैन पनि किनकी प्रकृतिसँग माझी समुदायको अनोन्याश्रीत सम्बन्ध रहि आएको छ । विकास र परिवर्तनले मानव समुदायलाई कहाँदेखि कहाँसम्म पुर्याई सक्यो तर प्रकृतिलाई नै आफ्नो सबै थोक मान्ने माझी समुदायले आफ्नो पिता-पुर्खाको थाक-थलो, बन-पाखा, नदि किनार, प्राकृतिक वातावरणलाई आजपनि छोड्न सकेको छैन नत परम्परा र प्राकृतिक स्वभावलाई नै ।

प्रकृतिमा नै ईश्वरीय शक्ति छ, प्रकृति विना कोहीपनि जीवित रहन सक्दैन । प्रकृति नै सम्पूर्ण सृष्टिको कारक हो भनि प्रकृतिलाई पूजा गर्ने माझी समुदायले मान्ने धर्म पनि प्रकृति धर्म नै हो ।

के हो प्रकृति धर्म ?

सामान्यतया प्रकृति धर्म भन्नाले प्रकृतिको पूजा गर्नु भन्ने बुझिन्छ । प्रकृतिको प्रेम, उदारता, घनिष्ठता, आवश्यकता महसुस गरि प्रकृति प्रति हित हुने कार्य गर्नु नै प्रकृति धर्म हो । अथवा, प्रकृति अर्थात् पृथ्वी, जल, वायु, अग्नि, आकाश, आदिलाई ईश्वरीय स्वरूपमा ग्रहण गरि उस प्रति आस्था, विश्वास, श्रद्धा र सद्भावका साथ सेवा गर्नु वा पूजा गर्नु नै प्रकृति धर्म हो ।

प्रकृति ईश्वरीय स्वरूप हो ।  पृथ्वी, आकाश, जल, वायु, मनुष्य, पशुपंक्षी, बोटबिरूवा यो सम्पूर्ण चराचर जगत प्रकृतिकै स्वरूप हुन् । प्रकृति विना जीवन सम्भव छैन । जीवन लाई चाहिने हरेक चीजहरू भूमि, पानी, ताप, प्रकाश, बायु, बोटबिरूवा, अन्न आदि सबै थोक प्रकृतिबाटै प्राप्त हुन्छ । मनुष्य, पशुपंक्षी, बोटबिरूवा वा सम्पूर्ण चराचर जगत प्रकृतिकै गर्भबाट जन्मन्छन्  र पुनः प्रकृतिकै गर्भमा विलय हुन्छन् ।

प्रकृति नै सम्पूर्ण सृष्टिको कारक हो । मनुष्य, पशुपंक्षी, बोटबिरूवा वा सम्पूर्ण चराचर जगत प्रकृतिबाट अलग रहन सक्दैन नत प्रकृति विना जीवित रहन नै । तसर्थ प्रकृतिलाई ईश्वरीय स्वरूप मानी पूजा गर्नु “प्रकृति धर्म” हो ।

सबै प्राणीहरू प्रति प्रेम भाव राख्नु र सबै मानव बीच एक आपसमा समान भाव राख्नु नै प्रकृति धर्म हो । प्रकृति धर्ममा कुनै काल्पनिक ईश्वर हुँदैन नत कुनै जात सम्प्रदाय न कुनै छुवाछूत र भेदभाव, प्राकृतिक धर्ममा सबै प्राणी जीव हो । सबै मानव समान हुन्, मानवीय साथ सहयोग र मान सम्मानका लागि मानिस नै आवश्यक पर्दछ । तसर्थ मानवका लागि प्रकृति धर्म नै सर्वोत्तम मानवीय धर्म हो ।


कोसी पूजा

माझी समुदायले मान्ने विभिन्न चाडपर्व मध्ये कोशी पूजा पनि एक हो । यो चाड माझी जातिको जीविकोपार्जन, पहिचान र संस्कृति संग जोडिएकोले यो पर्वलाई माझी समुदायले महान् चाडको रूपमा मान्ने परम्परा छ । प्रकृति पूजक माझी समुदायले मान्ने यो पर्वमा खास गरेर पानीलाई ईश्वरीय स्वरूप मानि शक्ति देवीको रूपमा पूजा आराधना गर्दछन् ।

माझी समुदायको परम्परागत पुर्ख्यौली पेसा डुङ्गा तार्ने काम नदि वा पानी बिना सम्भव नहुने र खोला, नदि, भेल बाढीमा डुङ्गा तार्ने काम अत्यन्तै जोखिम पूर्ण भएकोले आफ्नो र अरूको जिउ-धनको उद्धार तथा सुरक्षाका लागि काम गर्दा कुनै किसिमको आपद् , विपद् वा अनिष्ठ नहोस् भनि खोला (पानी) संग शक्ति, बुद्धि मागि शान्ति सुरक्षाका लागि दैनिक पूजा आराधना गर्ने क्रम सँगै यो पर्वको परम्परा चली आएको हो ।

डुङ्गा तार्ने पेसाको मुख्य साधन डुङ्गा, बहना आदि भएकोले यस पर्वमा डुङ्गा र बहनाको समेत पूजा गर्ने प्रचलन चली आएको छ ।

यस पर्वको ऐतिहासिक पृष्ठभूमि लाई अध्ययन गर्दा यो पर्वलाई विभिन्न ठाउँ, क्षेत्रमा बसोबास गर्ने माझी समुदायले आ-आफ्नो अनुकूलता अनुसार विभिन्न समयमा विभिन्न तौर तरिकाले गर्दै आएको परम्परा छ । यस पर्वलाई कतै खोला पूजा त कतै लदि पूजाको नामले मान्दै मनाउँदै आएको परम्परा पाइन्छ । वास्तवमा यो खोला वा पानीको पूजा हो ।

माझी जातिको अस्तित्व र पहिचान बोकेको यो पर्वलाई माझी समुदायले परापूर्वकाल देखि नै मानि ल्याइतापनि अन्य चाडबाडको प्रभावको कारण लोप हुन लागेको हुनाले यसको जगेर्ना गर्न र एकरूपता ल्याई राष्ट्रिय पर्वको रूपमा मान्न मनाउन नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको निर्णयबाट हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार का दिन देश-व्यापी रूपमा मान्न थालिएको छ । यो पर्व मान्ने कुनै खास तिथि छैन । माझी समुदायले मङ्गलवारलाई पूजा गर्ने सबैभन्दा उत्तम दिन मानि आएकोले सोही परम्परा अनुसार मङ्गलवार का दिन पूजा गरि चाड मान्न थालिएको हो ।

क) पूजा विधि
  • ठूलो खोलामा गई चोखो निधो भइ खोलाको डिलमा वेदी तयार गर्ने, बाँसको लिङ्गो, ध्वजा राखि देवीको स्थापना गर्ने,
  • केराको पात ‍ओछ्याइ दियो, कलश, अक्षता, फूल, पान-सुपारी, फलफूल, मिठाई, पैसा आदि राखी धूप चढाइ पूजा गर्ने,           
  • भाकल अनुसार दूध, फूल, हाँस, परेवा, कुखुरा, बोका / पाठी, राँगो आदि चढाउने र शक्तिको देवीसँग बुद्धि, शक्ति, सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको वरदान माग्ने प्रार्थना गर्ने,
  •  आफूले चिताएको मंगल कामना पूरा होस् भनि देवीसँग श्रद्धा भक्तिका साथ प्रार्थना गर्न,
  • मुख्य पूजारी वा ठूला बडाहरू बाट  अक्षताको टीका, प्रसाद ग्रहण गर्ने र पूजा सम्पन्न गर्ने ।
ख) कोसी पर्वका विशेषताहरू:
  • पहिलो दिन सामूहिक पानी पूजा, डुङ्गा-बहना, आदिको विधिपूर्वक पूजा गर्ने र शुभकामना आदान-प्रदान गर्ने,
  • भाइ-बन्धु, कुलकुटुम्ब, चेलीबेटी, आफन्तजन भेला भई भेटघाट, मेलमिलाप गर्ने र शुभकामना आदानप्रदान गर्ने,
  • चेलीबेटी बोलाई मीठो मसिनो (माछा, मासु, फलफूल, जाँड रक्सि) खाने खुवाउने,
  • शक्तिकी देवी (पानी) सँग आफू र आफ्नो परिवारका लागि, स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि, शान्ति, शक्ति, बुद्धि माग्ने र सबै आफन्तहरू सँग शान्ति, सद्भाव र एकताको शुभकामना आदान प्रदान गर्ने,
  • आफ्नो परम्परागत / सांस्कृतिक पोसाक तथा गरगहना पहिरिने, नाचगान आदि रमाइलो गर्ने,
  • दोस्रो दिन मीठो मसिनो खाने र विश्राम गर्ने,
  • चोखो निधो भइ शुद्ध शान्त मनले देवीको पूजा आराधना गरेमा आफू र आफ्नो परिवारमा सुख, शान्ति, समृद्धि, शक्ति र बुद्धि प्राप्त हुन्छ । र आफूले चिताएको मनोकामना पुरा हुन्छ  भन्ने परम्परा देखि जन-विश्वास रहि आएको छ ।
ग) पूजाको महत्व:

कोसी पूजा पर्व माझी समुदायको पहिचान, जीविकोपार्जन र संस्कृतिसँग जोडिएको छ । यस पर्वले माझी समुदायको पहिचान र अस्तित्व स्थापित गर्नुका साथै संस्कृतिलाई समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । प्रकृतिको स्वरूप पानी लाई ईश्वरको रूपमा ग्रहण गरि श्रद्धा भक्तिका साथ पूजा गर्नु, जीवन सुरक्षाका लागी पानीको संरक्षण र सदुपयोग गर्नु जस्ता महत्वपूर्ण सन्देश प्रदान गरेको छ र समुदायमा एक आपस बीच शान्ति, सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

घ) वैज्ञानिक महत्व
  • पानी शक्तिको स्वरूप हो, ईश्वरीय स्वरूप हो ।
  • पानी विना सृष्टि सम्भव छैन ।
  • पानी विना कुनैपनि जीवजन्तु, बोटबिरूवा वा सम्पूर्ण चराचर जगत जीवित रहन सक्दैन । 
  • पानी जीवन हो, पानी ईश्वरीय स्वरूप हो ।

पानीको पूजा गरी माझी समुदायले मान्ने कोसी पूजा पर्व माझी समुदायको लागि मात्र नभई सम्पूर्ण मानव जगतका लागि महत्वपूर्ण छ । यो पर्व मान्न मनाउन र यसको जगेर्ना गर्न हामी सबैको कर्तव्य र दायित्व पनि हो ।

हामीले परम्परादेखि मान्दै ल्याएका चाड पर्व पूजाआजा र परम्परागत मूल्य मान्यताहरू हाम्रा संस्कृतिहरूले हाम्रो पहिचान र अस्तित्व स्थापित गर्दछ । तर परम्परागत मानि ल्याएका कतिपय चाडपर्व र संस्कार संस्कृति सँगै हाम्रो अज्ञानता र अन्धविश्वासको कारण विकृति र बिसंगति हरू पनि भित्रिएका छन् । चाड पर्वको चाड पर्वको नाममा माछा, मासु, जाँड, रक्सीको बढि प्रयोगको कारण हाम्रो संस्कृति बढि खर्चिलो र घिनलाग्दो बन्दै गएको छ । जसले गर्दा हाम्रो, आर्थिक, सामाजिक एवम् सांस्कृतिक पक्षमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ ।

आज हामीले सांस्कृतिक पक्षलाई मात्र जोड दिइरहेको छौं तर शैक्षिक तथा आर्थिक पक्षमा खास ध्यान दिएको पाइँदैन । मानव विकासको सबैभन्दा महत्वपूर्ण आधार शिक्षा र आर्थिक हो । शिक्षा र सम्पत्ति विना पारिवारिक सुख शान्ति र समुदायको शैक्षिक र आर्थिक पक्षलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । संस्कृति सँगै भित्रिएका विकृति र बिसंगति प्रति सचेत र सजग हुँदै समयमै सुधार र परिमार्जन गर्नुपर्दछ र हाम्रो पारिवारिक उन्नति र प्रगती र सांस्कृतिक विकासको लागि शिक्षित, सचेत र आर्थिक रूपमा सबल ‍हुनुपर्दछ  अनिमात्र हरेक पक्षमा अगाडि बढ्न सकिन्छ ।

Comments

One response to “माझी जातिको धर्म संस्कृति र कोशी पूजा : संक्षिप्त परिचय”

Leave a Reply to माझी समुदाय, झापा Cancel reply

Your email address will not be published. Required fields are marked *

This page has been viewed 0 times.